काठमाडौं । गणतन्त्रवादी र राजावादीको सम्भावित भिडन्तलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले भद्रकाली–रत्नपार्क सडक बन्द गरेको छ । गणतन्त्र दिवसलक्षित विभिन्न कार्यक्रम आयोजना हुने भएकाले बिहीबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा सवारी आवागमन बन्द गरिने भएको हो ।
गणतन्त्र दिवस मूल समारोह समितिले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा १० बजेदेखि सैनिक मञ्चमा कार्यक्रम गर्दैछ । त्यसका लागि विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शन हुने हुँँदा मूल सडकको सवारी आवागमन बन्द गरिन लागेको हो । राष्ट्रपति पौडेल ११ बजे टुँडिखेलबाट फर्किएपछि एमालेले सोही क्षेत्र केन्द्रित गणतन्त्र उत्सव मनाउँदैछ । त्यसपछिको तीन घण्टासम्म उक्त क्षेत्रमा सवारी आवागमन बन्द हुने भएको छ ।
एमाले र राजावादी दल तथा समूह बिहीबार प्रदर्शन फरक–फरक समयमा गर्न सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा दुई दल आफ्ना प्रदर्शन फरक–फरक समयमा गर्न राजी भएका हुन् । तर पनि राजावादीले आफ्ना २५ हजारभन्दा बढी समर्थक विभिन्न जिल्लाबाट आइसकेकाले बिहानैदेखि सडकमा आउने भनेपछि एमालेसँग सम्भावित भिडन्त हुने ठानेर प्रशासनले फरक फरक समयमा प्रदर्शन गर्न भनेको छ । एमालेले दिउँसो साढे २ बजेसम्म र त्यसपछि राजवादीले रत्नपार्कमै प्रदर्शन गर्ने भएका छन् । एमालेले गणतन्त्रको समर्थनमा र विपक्षी राजावादीले विरोधमा गर्ने प्रदर्शनको मिति र स्थान एउटै भएपछि सुरक्षा चुनौती बढेको थियो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कार्यक्रम पूर्वनिर्धारित भएको हुँदा तोकिएकै समयमा तोकिएकै ठाउँमै आयोजना हुने पूर्ववत् अडान कायम रहेको बताएका छन् । ‘हाम्रा साथीहरू विभिन्न जिल्लाबाट आउँछन् । काठमाडौंका विभिन्न ठाउँबाट प्रदर्शन सुरु हुन्छ । रत्नपार्कसम्म पुग्दा १ पनि बज्न सक्छ । हाम्रो विरोध शान्तिपूर्ण हुन्छ । आन्दोलनको कार्यक्रम बिहीबारबाट निरन्तर अघि बढ्छ,’ उनले भने ।
कार्यक्रममा हुन सक्ने सम्भावित झडप रोक्न प्रशासनले दुई पक्षलाई आमनेसामने हुन नदिने रणनीति अपनाएको छ । काठमाडौंबाट निस्कने राजावादीको जुलुस २ बजेअघि नै रत्नपार्क पुग्न सक्ने देखिए प्रहरीले उनीहरूलाई बाटोमै रोक्नेछ । रत्नपार्क पुग्न ढिला हुने देखिए त्यस्ता जुलुसलाई अवरोध गर्नेछैन । त्यसो हुँदा प्रशासनले प्रदर्शनकारीको ‘मुभमेन्ट’ हेरेर सुरक्षाकर्मी परिचालन गर्ने रणनीतिमा प्रहरी पुगेको छ ।
जिप्रका काठमाडौंका अनुसार सदाझैँ यसपटक पनि सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै टोली खटाइनेछ । सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि प्रदर्शनका क्रममा परिचालन हुनेछन् । सबैगरी ४५ सय सुरक्षाकर्मी खटाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
राजावादीले शान्तिवाटिकामै कार्यक्रम गर्ने भनेर प्रचार व्यापक बनाएको छ । प्रदर्शनमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कलम थापासम्म सहभागी रहने भनिएको छ । कार्यक्रम लक्षित गरेर काठमाडौं प्रहरी परिसरले मातहतका तीन हजार जनशक्ति परिचालन गर्ने आन्तरिक तयारी गरेको छ । सशस्त्र प्रहरीबाट पनि एक हजार पाँच सयको जनशक्ति परिचालन हुने भनिएको छ । प्रहरीले एक हजार चार सय दस्तालाई ‘अलर्ट’मा राखेको छ ।
प्रतिक्रिया