रविका दाइ हरिशरण भन्छन्– गतिछाडा नेताहरू हुञ्जेल जुनसुकै तन्त्र ल्याए पनि केही हुन्न


काठमाडौं – पूर्वसञ्चारकर्मी एवं रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले भ्रष्ट, मूर्ख र गतिछाडा नेताहरू देशमा हुन्जेल जुनसुकै तन्त्र ल्याए पनि केही नहुने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार प्रेस नोट सार्वजनिक गर्दै उनले देश तन्त्र, संविधान या शासन प्रणालीले होइन, नेताहरूको सोच, भिजन, इमानदारी, देश र जनप्रतिको समर्पण र केही गरिछाड्‌ने हुटहुटीले बन्ने उनको भनाइ छ ।

‘२००७ सालअघिदेखि नै तिमीहरूले अनेक तन्त्र र आन्दोलनका नाममा हामी जनतालाई अनेक सपना देखायौ, हामी भ्रममा पौँ । सत्ताविरुद्ध हामीलाई उचाल्यौ, हामी उचालियौँ । आन्दोलन सफल भयो, हामी जनता सहिद भयौं, तिमीहरू शासक बन्यौ । अहिले आएर हाम्रो भ्रम तोडियो । देश तन्त्र, संविधान या शासन प्रणालीले होइन, नेताहरूको सोच, भिजन, इमानदारी, देश र जनप्रतिको समर्पण र केही गरिछाड्‌ने हुटहुटीले बन्ने रहेछ,’ उनले भनेका छन् ।

हरिशरणले नेता असल भइदिए निरंकुश शासन व्यवस्था, गणतन्त्र वा राजतन्त्र भएका मुलुक पनि बन्ने उल्लेख गरेका छन् । ‘निरङ्कुश भनिएकाहरूले सिङ्गापुर, मलेसिया बनाउन सक्दा रहेछन् । नेता असल भइदिए राजसंस्था भएका देश पनि बन्दा रहेछन् । गणतन्त्र या अर्को कुनै तन्त्र भए पनि देश बन्न कसैले छेक्दो रहेनछ । उदाहरण खोज्न हाम्रो देशबाहेक जता हेरे पनि हुन्छ। तर, तिमीहरूजस्ता भ्रष्ट, मूर्ख र गतिछाडा नेताहरू यो देशमा हुन्जेल यहाँ जुनसुकै तन्त्र ल्याए पनि केही हुँदैन। त्यसैले, अब हामी जनतामाझ भ्रम छरेर हामीलाई आन्दोलनमा उतार्ने सपना देख्न छाडिदेऊ,’ उनले भनेका छन् ।

लामिछानेले गणतन्त्र र राजतन्त्र दुवैको आन्दोलनमा आफूहरू सहभागी नहुने बताएका छन् । ‘हामी तिम्रा आन्दोलन र प्रतिरोध दुवैमा आउँदैनौँ । तिम्रा लागि आन्दोलन र प्रतिकार दुवै अब तिमी आफैँ गर । तिम्रा सन्तानलाई आन्दोलन या प्रतिकारमा उतार। सहिद महान् हुन् भने तिम्रै सन्तान बनुन् महान् सहिद, नभए तिमी आफैँ महान् सहिद बन । हामीलाई महान् बन्ने कुनै लोभ छैन । तिमीहरूका एक एक थान सालिक बनाएर वर्षमा एकचोटि माला हामी लगाइदिऔंला,’ उनले भनेका छन् ।