काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ महाभियानले काठमाडौँमा हुने राजावादी प्रदर्शनमा भने सहभागिता नजनाउने भएको छ । संगठनले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कार्यकर्तालाई आन्दोलनमा नजान प्रष्ट निर्देशन दिएको हो ।
आन्दोलन राप्रपाको नेतृत्वमा हुन लागेको र उनीहरुसँग महाभियानको कुनै सहकार्य नरहेको स्पष्ट पार्दै कुनै घटना घटे आफूहरु जिम्मेवार नरहनेसमेत जानकारी गराएको छ । ‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनान्दोलन भएकाले हाम्रो सहकार्य नरहेकाले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ महाभियानका केन्द्रीय सचिव प्रेमदीप लिम्बूले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनै घटना घटे महाभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष रुचि र चासोमा राजावादी आन्दोलनको जनकमाण्डर बनाइएका उक्त अभियानका अध्यक्ष प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनला मुख्य आरोपित उनीविरुद्ध कर्तव्य ज्यान, राज्यद्रोह र संगठित अपराधसहित विभिन्न पाँचवटा कसूरमा मुद्दा चलाइएको छ । सोही घटनामा पक्राउ परेका राप्रपा नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत भने रिहा भइसकोक छन् ।
नवराज सुवेदी नेतृत्वको ुराजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिु को आह्वानमा राजेन्द्र लिङ्गदेनको राप्रपा, कमल थापाको राप्रपा नेपालसहितले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछन् ।

बुधबार मात्र राजासहितको हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको विश्व हिन्दु महासंघ नेपालले पनि आजको आन्दोलनमा समर्थन नगर्ने घोषणा गरेको थियो । यो आन्दोलनले हिन्दु राष्ट्र कायम गर्न योगदान पुर्याउनेमा विश्वास नरहेको र अहिले चर्चामा रहेका पात्रहरुमा राजा बन्ने गुण नदेखिएकाले सडकमा ओर्लिनुको औचित्य नरहने महासंघले जनाएको छ । राप्रपासमेतको आन्दोलनलाई प्रसाई र विश्व हिन्दु महासंघले समेत समर्थन नजनाउने भएपछि फिक्का बन्ने देखिएको छ ।
प्रतिक्रिया