राप्रपा नेताहरूको खोसिएको पिएसओ फिर्ता भएनन्


काठमाडौं – प्रहरी प्रधान कार्यालयले राजावादी नेताहरूको पिएसओ फिर्ता गरेको छैन । बुधबार ब्रिफिङका लागि भन्दै गृह मन्त्रालयको निर्देशनमा राप्रपा र राप्रपा नेपालका नेताहरूको पिएसओ प्रहरी प्रधान कार्यालयले हेड क्वार्टर तानेको थियो । संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारले राजावादी नेताहरुको पिएसओ तानेको हो ।

बिहीबार बिहानसम्म पनि राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, प्रकाशचन्द्र लोहनी, दीपकबहादुर सिंह, ज्ञानबहादुर शाहीलगायतको पिएसओ फिर्ता भएका छैनन् । प्रहरी प्रधान कार्यालयका अनुसार १७ जना पिएसओ तानिएको छ ।

गणतन्त्र दिवसमा बिहीबार राजतन्त्रको पक्षमा प्रदर्शनको तयारी भइरहेको पूर्वसन्ध्यामा उनीहरूको पिएसओ हटाइएको हो । राज्यबाट सुविधा लिएर संविधानविरोधी गतिविधिमा लागेको आधारमा सुरक्षा हटाइएको एक उच्च प्रहरी अधिकारीले बताए ।
राप्रपाका नेताहरूले भने राजनीतिक पूर्वाग्रहका आधारमा पिएसओ हटाइएको आरोप लगाएका छन् । प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार नेताहरूको सुरक्षामा खटिएका पिएसओहरूलाई ब्रिफिङका लागि प्रधान कार्यालयमा झिकाइएको हो ।