काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेस गरेका छन् । बिहीबार दिउँसो बसेको प्रतिनिधिसभामा पौडेलले आर्थिक, सामाजिक एवं भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण, २०८१–८२ पेस गरेका हुन् । आर्थिक सर्वेक्षणमा चालू आर्थिक वर्षको प्रथम आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ ।

चालू आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको उल्लेख छ।चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ।
यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ। प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १,५१७ अमेरिकी डलर पुगेको छ। औसत उपभोक्ता मुद्रास्फीति ४।७२ प्रतिशत रहेको उल्लेख छ।

चालू आर्थिक वर्षको फागुनसम्म संघीय खर्च ४.७ प्रतिशत र संघीय राजस्व १२.६ प्रतिशतले बढेको छ। वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्य रूपमा बढेको छ। यस अवधिमा संघीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको सर्वेक्षणमा जनाइएको छ । २०८१ फागुनसम्म संघीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४८ प्रतिशत हो।
प्रतिक्रिया