काठमाडौं । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस नेता एवं पूर्वमन्त्री अमफताव आलमलगायतका व्यक्तिहरूलाई सफाइ दिने जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासको फैसला नेपालको इतिहासमा कलंकको रूपमा दर्ज भएको बताएका छन् । उच्च अदालतले इँटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका आलमसहित सबै प्रतिवादीलाई बुधबार सफाइ दिने फैसला गरेको थियो ।
श्रेष्ठले फैसला सुनाउने न्यायाधीशहरूलाई ‘बहादुर’ संज्ञा दिँदै कालो टीका लगाएर कालो दिनमा परिणत गरेको भन्दै उनीहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने बताएका छन् । ‘हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले इँटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलमलगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ ।
लंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने ‘बहादुर’ न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्,’ श्रेष्ठले भनेका छन् ।
नेता श्रेष्ठले न्यायालयको यस्तो आदेशले आमनागरिकमा कहालीलाग्दो स्थिति उत्पन्न गर्ने उल्लेख गर्दै कसले जिम्मेवारी लिने भनी प्रश्नसमेत गरेका छन् । ‘त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा ‘निर्दोष’ बन्दै हिँड्ने स्थितिले समाजमा र आमनागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही, रुपान्तरण र सुधारको निम्ति ठूलो जनअभियान सञ्चालन गर्नु जरुरी छ,’ उनले भने ।
प्रतिक्रिया