काठमाडौं । एमाले र राजावादी कार्यकर्ता रत्नपार्कमा आमनेसामने भएका छन् । एमालेले गणतन्त्रको उत्सव मनाइरहँदा राजावादीको जुलुस रत्नपार्क पुगेपछि घम्साघम्सी भएको छ ।
दुवै समूह एकअर्काप्रति आक्रामक देखिएका छन् । एमालेले गणतन्त्रको पक्षमा उत्सव मनाउने र राजावादीले गणतन्त्रको विरोध गर्दै प्रदर्शन गरेको हो । तर, बाक्लो सुरक्षाकर्मी खटिएकाले झडप भने हुन पाएको छैन ।
एकैदिन प्रदर्शन हुने भएपछि प्रशासनले एमाले र राजावादीका लागि छुट्टाछुट्टै समय तोकेको थियो । एमालेलाई २ बजेसम्म कार्यक्रम सक्न भनिएको थियो । राजावादीको कार्यक्रम साढे २ बजेमात्रै रत्नपार्क पुग्नेगरी समन्वय गरिएको थियो । तर, एमालेको कार्यक्रम समयमै सकिएन भने राजावादीहरू २ नबज्दै रत्नपार्क आसपास पुगिसकेका छन् ।
एमालेको कार्यक्रम सकिएपछि अहिले राजावादीहरू शान्तिबाटिकामा भेला हुन थालेको काठमाडौँ प्रहरी परिसरका प्रहरी प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । राजावादीहरू छाता ओढेर प्रदर्शनमा सरिक भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कालो र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहेंलो छाता ओढेका छन् । केही समय प्रदर्शनमा सरिक भएर राप्रपा सांसदहरू संसद् पुग्ने कार्यक्रम छ ।
प्रतिक्रिया