काठमाडौं । संघीय संसदबाट अर्थमन्त्री विष्णु पौडेलले बहीबार आगामी आर्थिक वर्ष ०८२÷८३ को बजेट प्रस्तुत गरेका छन् । माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीले संवैधानिक बाध्यता रहेकाले बजेट ल्याउन दिएका हुन् । तर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै शुक्रबारदेखि संसद् अवरोध गर्ने विपक्षीको तयारी छ ।
विपक्षीले संसद नै चल्न नदिने भनेपछि अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् । यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ ।
सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरलगायतका विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।
यदि संसदबाट बजेट पारित हुन नसके आर्थिक क्षेत्र नै प्रभावित हुने छ । असारभित्र बजेट पारित गरेपछि साउन १ देखि कार्यान्वयनमा आउने छ । तर माओवादी र रास्वपाले भिजिट भिसा प्रकरणलाई प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैले उनीहरूले गृहमन्त्री लेखकलाई बोल्नै नदिने रणनीति बनाएका छन् । गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोपबारे संसदमा बोल्न पाउनुपर्ने भनिरहेका छन् । तर विपक्षीले कुनै सुनुवाइ नै गरेका छैनन् ।
प्रतिक्रिया