काठमाडौं । राजसंस्था पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा राजावादीहरुले शुक्रबार पनि प्रदर्शन गर्ने भएका छन् । बिहीबार रत्नपार्कको शान्तिबाटिकामा प्रदर्शन गरेका राजावादी धेरै भिड जुटेपछि हौसिएका छन् ।
राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर र बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था र हिन्दुराष्ट्रको पुनः स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको हो । राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध छन् ।
राजावादीको आन्दोलन मियोविनाको दाइँ बन्ने निश्चित जस्तै छ । किनभने आन्दोलनको नेतृत्व कसले गर्ने, आन्दोलन सफल भएमा वा नभएमा त्यसको जस कसले लिने भन्नै देखिएकै छैन । जसलाई राजसंस्था चाहिएको छ, उनी सपरिवार झापा पुगेका छन् । झन्डै एक महिनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार नै झापा पुगेका हुन् ।
राजावादी नेताहरू राजेन्द्र लिङ्दने, कमल थापा, नवराज सुवेदी, केशरबहादुर विष्टलाई पटकपटक दर्शनभेट दिएर अह्रनखटन गराउँदै उनी झापा पुगेका हुन् । भद्रअवज्ञा भनिएको काठमाडौंकेन्द्रित आन्दोलनको पहिलो दिन बिहीबार रत्नपार्कमा झन्डै १० हजारको भिड जुटे पनि शुक्रबारदेखि राजावादीको अग्निपरीक्षा सुरु हुनेछ । त्यही माइतीघर–बिजुलीबजार क्षेत्र हो जहाँ यसअघि शिक्षकहरू एक महिनासम्म आन्दोलन गरेर रित्तो हात घर फर्किएका थिए ।
अहिलेको अवस्थामा नेपालमा राजसंस्था पुनः स्थापनाको कुनै सम्भावना नै छैन । राप्रपाका केही नेताको अनुहार हेरेर नेपाली जनताले राजसंस्था ल्याउँछन् भन्ने छैन । यो देशमा हरेक परिवर्तन र क्रान्तिको नेतृत्व कांग्रेसले गरेको हो । जबसम्म कांग्रेस राजसंस्थाको एजेन्डामा आउँदैन, तबसम्म राजावादी सडकमै कराउने निश्चित जस्तै भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया