आलमबारे पाँच वर्षअघि देउवाले बोलेको अभिव्यक्ति किन भयो भाइरल ?


काठमाडौँ । बम विस्फोट र हत्या आरोपमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका पूर्वमन्त्री एवं कांग्रेस नेता आफताब आलमलाई उच्च अदालत जनकपुर वीरगन्जको इजलासले सफाइ दिएको छ । अदालतको आदेशसँगै आलमसहित सबै प्रतिवादी जेलबाट छुटिसकेका छन् ।

इँटाभट्टामा मारिएका पीडित परिवार भने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि सर्वोच्च जाने बताइसकेको छ ।

१२ वर्षअघिको घटनामा आलमलाई उच्च अदालतबाट सफाइ पाएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ । सञ्जाल प्रयोगकर्ताहरूले यस विषयमा विभिन्न टीकाटिप्पणी गर्दै विभिन्न मिडियामा प्रकाशित पुरानो समाचारको स्क्रिनसट व्यापक रूपमा शेयर गरिरहेका छन् ।

सेयर गरिएको स्क्रिनसटमा कांग्रेस सभापति शेरबहादुर देउवाले ‘आफताब आलमलाई छुटाउन लागिरहन्छु’ भन्ने शीर्षक देखिन्छ । यो अभिव्यक्तिलाई जोड्दै प्रयोगकर्ताले अदालतको फैसला र राजनीतिक संरक्षणप्रति प्रश्न उठाएका छन् । आलमलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि रौतहटबाट कांग्रेसका नेता कार्यकर्ता र आलम परिवार देउवालाई भेट्न पुगेका थिए । त्यहीबेला देउवाले आलमलाई छुटाउन प्रयत्न गर्छु भनेका थिए । त्यही विषय अहिले भाइरल बनेको हो ।
बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई सफाइ दिने फैसला सुनाएपछि यस विषयमा

मप्रयोगकर्ताले आफ्ना प्रतिक्रिया दिएका छन् । न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको फैसलालाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो । यसअघि जिल्ला अदालत रौतहटले बम विस्फोट गरी व्यक्ति हत्या गरेको अभियोगमा आलमलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।