बजेटले धेरै सुझाव समेट्यो, लगानी र उद्यमशीलता प्रवर्द्धनमा जोड : अध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेटमा महासङ्घले अघि सारेका धेरै सुझाव समेटिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई प्रोत्साहन गर्ने शैलीमा बजेट आएको छ। लगानी प्रवर्द्धन, खनिज निकासीलगायतका विषयमा महासङ्घका सुझाव बजेटमा समेटिएका छन्। लगानी बोर्डलाई थप प्रभावकारी बनाउने प्रयास पनि गरिएको छ।”

नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो संस्थाले पेश गरेका सुझावहरू बजेटमा समावेश भएको भन्दै सन्तोष व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो बजेटलाई महत्त्वाकांक्षी रूपमा लिएको छु। हालको आर्थिक अवस्थालाई ध्यानमा राख्दै स्रोत बाँडफाँडको प्रक्रिया सन्तुलित देखिन्छ। राजस्व सङ्कलनको लक्ष्य पनि यथार्थपरक छ।”

नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोखरेलले देशको आर्थिक संकटका बीच प्रस्तुत बजेटले निजी क्षेत्रका राय, सुझाव र परामर्शलाई समेटेको बताउनुभयो। उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई उत्साहित पार्ने प्रयास देखिन्छ। बजेट सकारात्मक दिशामा उन्मुख छ र उद्यमशीलतालाई प्रोत्साहन दिएको छ।”

चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्राले निजी क्षेत्रले उठाएका धेरै मुद्दाहरू बजेटमा समावेश भएको बताउँदै यसलाई सकारात्मक कदम भन्नुभयो। उहाँले भन्नुभयो, “नेपाली नागरिकलाई विदेशी लगानीको अनुमति दिनुपर्ने हाम्रो माग बजेटमा समेटिएको छ, जुन उल्लेखनीय उपलब्धि हो।”

चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले भने समग्रमा बजेट सकारात्मक भएको धारणा राख्नुभयो। उहाँको भनाइमा, “राजस्व सङ्कलन चुनौतीपूर्ण देखिए पनि सूचना प्रविधि (आईटी) क्षेत्रलाई समेटिएको बजेट स्वागतयोग्य छ।”