प्रचण्ड निवासमा गृहमन्त्री लेखकको राजीनामा रोकिएकोबारे चर्चा


काठमाडौं – माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी भएका बेला एकाएक रोकिन पुगेकोमा आश्चर्य व्यक्त गरेको छ । शुक्रबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकमा गृहमन्त्री लेखक जोडिएको भिजिट भिसा प्रकरणबारे छलफल भएको थियो ।

माओवादी नेताहरुले गृहमन्त्री लेखकको राजीनामा आउन सक्नेबारे कुराकानी भएको थियो । गृहमन्त्री लेखकले नैतिकताका आधारमा पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित बसेको बैठकले रोकेको माओवादीको निष्कर्ष छ । लेखकले पार्टी पदाधिकारी बैठक, ओली र देउवासँग पनि आफू राजीनामा दिन तयार भएको जनाउ दिएका थिए । बजेट रोक्न नहुने भन्दै लेखकले राजीनामा दिने बताए पनि नआएपछि माओवादीसहित विपक्षी दल बजेट वाचन गर्न दिन तयार भएका थिए ।

माओवादीले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्रीको राजीनामा आउनुपर्ने निष्कर्षसहित सदनको अवरोध कायम राख्ने निर्णय लिएको छ । त्यसबारे थप छलफल गर्न जेठ १९ गते संसदीय दलको बैठक पनि बोलाएको छ । प्रतिनिधिसभाको अर्को बैठक २० गते बस्दैछ ।

गृहमन्त्रीको राजीनामाका साथै यस विषयमा प्रधानमन्त्री ओलीको जवाफ माग्दै गर्दै विपक्षी दलहरूले सदनको अवरोध कायम राख्ने निर्णय गरेका छन् । रास्वपाले गृहमन्त्री जोडिएको प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोगसमेतको माग गरेको छ । तर सत्तारुढ कांग्रेस र एमालेले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।