भ्युटावरपछि ओलीको गृहजिल्ला झापामा रंगशाला, देउवाको डडेल्धुरामा विमानस्थल


काठमाडौं – सरकारले बिहीबार ल्याएको बजेटबारे मिश्रित प्रतिक्रिया आउने क्रम जारी छ । खासगरी निजी क्षेत्रले बजेटको स्वागत गरेका छन् । राजनीतिक दलहरूले भने बजेटप्रति मिश्रित टिप्पणी गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा लोकप्रिय नारा धेरै नभए पनि प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा रंगशाला र कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विमानस्थल बनाउन बजेट छुट्याएको विषय अहिले चर्चामा छ ।
सरकारले केही आन्तरिक विमानस्थलको क्षमता विस्तार गर्ने योजना पनि अघि बढाएको छ । त्यसमा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापास्थित भद्रपुर विमानस्थलको पनि क्षमता विस्तार गर्ने योजना ल्याइएको छ । दाङको टरिगाउँ र ताप्लेजुङको सुकेटार विमानस्थलको पनि क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ । विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।

यससँगै कांग्रेस र एमालेका शीर्ष नेताद्वयका गृहजिल्लाहरूमा महत्वाकांक्षी परियोजना अघि सारेपछि सकारात्मक र नकारात्मक दुवै खाले टिप्पणी आउने क्रम जारी छ ।

अर्थमन्त्री विष्णु पौडेलले देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरुमा विमानस्थल निर्माणका लागि विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने बताए । ‘तेह्रथुमको चुहान डाँडा, डडेल्धुराको अजयमेरु र उदयपुरको सगरमाथा विमानस्थलको विस्तृत अध्ययन गरी आयोजना प्रतिवेदन तयार गरिने छ,’ उनले भने ।

अर्थमन्त्री पौडेलले प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने पनि बताए । अर्थमन्त्री पौडेलले काठमाडौंको मूलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाका लागि ४२ करोड विनियोजन गरिएको बताए ।

ओलीको गृहजिल्ला झापामा यसअघि नै ठूल्ठूला आयोजना परिसकेका छन् । झापाको दमकमा डेढ अर्ब लागतमा निर्माण भएको भ्यूटावर निर्माण भएको छ । तर सञ्चालनबारे नियम नहुँदा काममा आउन सकेको छैन । भ्यूटावर बनाउने बजेटले अस्पताल नै बनाउन पुग्ने भन्दै सरकारको आलोचना भइरहेको छ । यस्तै, झापामै नेपाल चीन औद्योगिक पार्क निर्माण गरिने भएको छ । ६ अर्ब लागतमा निर्माण हुने भनिएको पार्क महत्वपूर्ण आयोजना हो ।

डडेल्धुरामा विमानस्थल बनाउने कुरा विवादमा आएको छ । वैतडीको पाटनमा निर्माण भएको विमानस्थल सञ्चालनमा आउन नसकिरहेका बेला अजयमेरुमा किन बनाउनु पर्यो भन्दै आलोचना भएको छ । जबकि डडेल्धुराकै मुनि धनगढीमा विमानस्थल सञ्चालनमा छ । यी तीनै ठाउँको दूरी २० देखि २५ किलोमिटर रहेको छ ।