काठमाडौं – नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। आजदेखि तेस्रो सातामा लागेको यस चलचित्रले दर्शकबाट सकारात्मक वर्ड अफ माउथ प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।
आम नेपालीले भोगिरहेको घरजग्गासम्बन्धी समस्यालाई केन्द्रमा राखेर बनाइएको चलचित्रले दर्शकलाई कथावस्तुबाट छुन सफल भएको निर्देशक दीपेन्द्र के. खनालले बताएका छन्। “जति दर्शकले सिनेमा हेर्नु भयो, सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ। वर्ड अफ माउथ राम्रो छ, जसले गर्दा आगामी दिनमा दर्शक संख्या अझै बढ्ने आशा छ,” निर्देशक खनालको भनाइ छ।
वितरक करण श्रेष्ठका अनुसार चलचित्रको माग बढिरहेका कारण शोहरू क्रमशः थपिँदै गएका छन्। केही हलहरूमा दर्शक उपस्थितिमा उल्लेखनीय वृद्धि देखिएको र अकुपेन्सी राम्रो रहँदा निर्माण पक्ष उत्साहित देखिएको छ।
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे र सुरज विष्टलगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् भने निर्देशन दीपेन्द्र के. खनालले गरेका हुन्। सिनेमामा कृष्णबहादुर थापाको छायांकन रहेको छ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको प्रस्तुति रहेको चलचित्रमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माताका रूपमा तथा युवराज कार्की कार्यकारी निर्माता रहेका छन्।
दर्शकले यस चलचित्रलाई “आम नेपालीको घरघरको कथा” भन्दै प्रशंसा गरिरहेका छन्, जसले फिल्मको लोकप्रियता थप बढाएको देखिन्छ।
प्रतिक्रिया