राजावादी आन्दोलन, राजेन्द्र लिङ्देनलाई कमल थापाको अभिभावकत्व


काठमाडौं । राजावादी समूह संयुक्त जनआन्दोलन समितिले शुक्रबार पनि आन्दोलन जारी राखेको छ। संवैधानिक राजसंस्थाको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी शान्तिपूर्ण जनआन्दोलन जारी राखेको हो।

विभिन्न स्थानबाट जुलुस सुरु भएर माइतीघर मण्डला, बिजुलीबजारमा जम्मा भएका छन् । प्रदर्शनकारीले राजसंस्थाको पुनस्र्थापना हुनुपर्ने भन्दै सरकार र ठूलो दलको कडा आलोचना गरेका छन् । खासगरी प्रधानमन्त्री केपी ओलीप्रति राजावादीको आक्रोश धेरै न देखिन्छ ।

जेठ १५ गते तीन घन्टासम्म काठमाडौं नियन्त्रणमा राख्न ओलीले पार्टीका नेता कार्यकर्तालाई दिएको निर्देशनको राजावादीले आलोचना गरेका हुन् । काठमाडौंकेन्द्रित आन्दोलनको पहिलो दिन रत्नपार्कमा भेला भए पनि शुक्रबार माइतीघर–बिजुलीबजारको सडकमा राजावादी देखिएका छैनन् । चर्को घामको असर प्रदर्शनमा पनि परेको छ ।

राजावादीहरू छाता आढेर नाराबाजी गरिरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा एउटै छाता ओढेर प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनलाई सम्बोधन गर्दै लिङ्देनले जेठ १५ गतेको प्रदर्शन नै जनमतसंग्रह भएको दाबी गरे ।

लिङ्देनले भाषण गरिरहँदा कमल थापाले उनलाई छाता ओढाएका थिए । हिजो राप्रपाको महाधिवेशनमा लिङ्देनले अध्यक्षमा पराजित गरेपछि सहन नसकेर पार्टी नै छाडेका कमल थापा अहिले लिङ्देनको अभिभावक जस्तै बनेका छन् । उनले राजेन्द्रलाई साथ छोडेका छैनन् ।