शेखर र गगनबीच ‘प्याचअप’, यसकारण आए दुवै एकठाउँ

फेरि दुईजना नेता मिलेर जाने सहमति


काठमाडौं – झन्डै ११ महिनापछि कांग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । केपी ओली नेतृत्वको सरकार बन्ने बेला मन्त्रीको नाम पठाउने विषयले यी नेताबीच फाटो ल्याएको थियो । यसबीचमा दुई नेताबीच सामान्य भेटवार्ता हुने गरे पनि सम्बन्ध हार्दिक थिएन । जसकारण संस्थापन इतर नेता कार्यकर्ता चिन्तित बनेका थिए ।

तर शुक्रबार एक्कासि गगन र शेखरबीचको भेटवार्ताले पुराना तिक्ततालाई मेटाएको छ । फेरि दुईजना नेता मिलेर जाने सहमति भएको कांग्रेसका एक पदाधिकारीले बताए । शुक्रबार बिहान गगन विशालनगरस्थित शेखरको सम्पर्क कार्यालय पुगेका थिए । शेखर र गगनबीच संवाद हुँदा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार र अन्य दुई केन्द्रीय सदस्य पनि साथमै थिए ।

लामो समयदेखि आपसी संवाद तोडेर पार्टीभित्र आ–आफ्नै तयारीमा लागेका नेताद्वयबीच पार्टीका आन्तरिक विषयमा मिलेर जाने सहमति बनेको छ । पार्टीभित्र विकसित पछिल्लो परिस्थितिले शेखर र गगनलाई पुनः एकै ठाउँमा ल्याएको हो । खासगरी कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले दबाब सिर्जना गरेपछि गगन र शेखरबीच संवाद सुरु भएको हो ।

नेताहरुका अनुसार कांग्रेसको अनुशासन समितिको काम कारवाही, क्रियाशील सदस्यता, महाधिवेशन तालिकालगायत विषयमा छलफल भएको छ । महामन्त्री थापा पछिल्लो समय सत्तारुढ गठबन्धनको बैठकमा जान छाडेका छन् । उनी उच्चस्तरीय संयन्त्र सदस्य पनि हुन् । तर सरकारको कामकारबाहीप्रति गगन खासै सन्तुष्ट छैनन् । सोही कारण सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटबारे गगनले कुनै टिप्पणी गरेका छैनन् ।

शेखर गगनबीच संवादहीनता तोडिनुलाई कांग्रेसवृत्तमा चासोका साथ लिइएको छ । राष्ट्रिय राजनीतिका कतिपय सवालमा विगतमा मत नमिले पनि अब संवाद गरेर अगाडि बढ्ने सहमति नेताहरुबीच भएको बताइएको छ । कांग्रेसको १५औं महाधिवेशनमा शेखरले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर गगनले अहिलेसम्म केही बोलेका छैनन् । तयारी हेर्दा महाधिवेशनमा गगनले पनि सभापतिमा उम्मेदवारी दिने आकलन गर्न सकिन्छ । पछिल्लो समय उनी पूर्वदेअि पश्चिमसम्म दौडाहामा निस्केको त्यही तयारीका लागि भएको उनी निकट नेताहरु बताउँछन् ।