सकियो बालेन र सुनिताको विवाद : लामो समयपछि मेयर बालेन र उपमेयर डंगोलबीच सहमति, कार्यपालिका बैठक चाँडै बस्ने


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ।

केही वडाध्यक्षहरूको सहभागितामा भएको सो छलफलमा कार्यपालिका बैठक चाँडै बोलाउने विषयमा प्रारम्भिक सहमति जुटेको छ।

‘हिजो लामो बैठक भयो। उपप्रमुखले आफ्ना धारणा राख्नुभयो, प्रमुखले पनि केही बुँदा प्रस्तुत गर्नुभयो। बजेट केन्द्रित कार्यपालिका बैठक तत्काल बोलाउने र बाँकी विवादहरू क्रमशः समाधान गर्दै जाने सहमति भएको छ। यद्यपि बैठकको मिति भने अझै तय भएको छैन,’ एक वडाध्यक्षले बताए।

कार्यपालिका बैठकको तयारीका लागि भएको उक्त छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भने सहभागी थिएनन्। ‘यो बैठक जनप्रतिनिधिहरूमाझ मात्र सीमित थियो। मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतलाई सहभागी गराउने चाहना नदेखाएकाले उहाँलाई खबर गरिएन,’ अर्का वडाध्यक्षले जानकारी दिए।

हालको स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यपालिका बैठकका सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत नै हुने व्यवस्था छ।

महानगरको कार्यपालिका बैठक बस्न नसकेको लगभग पाँच महिना नाघिसकेको छ। पछिल्लोपटक १४ पुसमा १६औं नगरसभा बैठक हुनु अघि कार्यपालिका बैठक बसेको थियो, त्यसयता कुनै बैठक हुन सकेको छैन।