सारेगमप लिटिल च्याम्प्सको दोश्रो सस्करण यही असार १ गतेदेखि


काठमाडौं l विश्वविख्यात सिङ्गिङ फ्रान्चाइजी शो सारेगमप लिटिल च्याम्प्स को दोस्रो नेपाली संस्करण यही असार १ गतेदेखि हरेक आइतबार र सोमबार राति ८:३० बजे Space4K टेलिभिजन र Doko युट्युब च्यानलमार्फत प्रसारणमा आउने भएको छ। पहिलो संस्करणले उल्लेखनीय सफलता हासिल गरे पनि विभिन्न कारणले समयमा आउन नसकेको यो शो अब भने नेपाली दर्शक माझ थप परिष्कृत भएर आउन लागेको Nobody Production Pvt. Ltd. ले बताएको छ।

निर्माताहरूका अनुसार, यस सिजनको अडिसन प्रक्रियामा देशभर र देश बाहिरबाट ठूलो सङ्ख्यामा बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। हालसम्म सार्वजनिक गरिएका प्रतिभाको गायन क्लिपहरूले सामाजिक सञ्जालमा उल्लेखनीय उत्साह र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेका छन्।

सार्वजनिक क्लिपहरूमा बालबालिकाको प्रस्तुति हेर्दा यो सिजन पहिलेको तुलनामा अझ प्रतिस्पर्धात्मक, गुणस्तरीय र दर्शकप्रिय हुने स्पष्ट संकेत देखिएको छ। सहभागी बालबालिकाहरूको आत्मविश्वास, गायन क्षमता र प्रस्तुतीकरणले नेपाली संगीत क्षेत्रमा नयाँ आशा जगाउने कुरामा दुई मत छैन।

दोस्रो सिजनमा नयाँ निर्णायकहरूका रूपमा दीप श्रेष्ठ, सुबानी मोक्तान र स्वप्न‌ सुमनलाई भित्र्याएको यो शोको होस्ट सुमन कार्की रहनेछन्। जजबाहेक , grand जुरीहरूले पनि निर्णय प्रक्रियामा भाग लिने कारण यो शोमा छानिँदै अगाडि बढ्न गाह्रो हुन्छ । तर जो छानिन्छन् , उनीहरू गज्जब हुन्छन्। यो शोको फर्म्याटले बाल प्रतिभाहरूलाई व्यावसायिक संगीत यात्रातर्फ उन्मुख गराउने मात्र नभई दर्शकहरूलाई पनि संगीतमय मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।