सय दिन मनाउन लागेको ‘अञ्जिला’ सय रुपैयाँमा हेर्न पाइने



फिल्म ‘अञ्जिला’ले प्रदर्शनको सय दिन मनाउने पक्का भएको छ । गतवर्षको फागुनको २९ गतेबाट रिलिजमा आएको यो फिल्मले दर्शकको उत्साहजनक साथ पाउँदै सय दिनको गौरवमय इतिहास बनाउन लागेको हो ।

फिल्मले बक्स अफिसमा ९ करोड आसपासको ग्रस कलेक्शन गरिसकेको छ । आज यो फिल्म रिलिज भएको ९१ दिन पुरा भएको छ ।

यसैबिच, यो फिल्मलाई क्यूएफएक्स चेनले आजबाट १ सय रुपैयाँमा देखाउन थालेको छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले फिल्मले सय दिन मनाउन लागेको उपलक्ष्यमा क्यूएफएक्सका चेनसँगै अन्य केही हलले पनि सय रुपैयाँमा फिल्म देखाउन लागेको जानकारी दिए ।

आज काठमाडौंको सिटी स्क्वायर हलमा फिल्मका लागि ३ शोज दिइएको छ । दर्शकले एक सय रुपैयाँमा यो हलमा फिल्म हेर्न सक्नेछन् ।

निर्माता श्रेष्ठका अनुसार, सबै दर्शकले यो फिल्म हेर्न पाउन् भनेर सय रुपैयाँमा टिकट व्यवस्था गरिएको जानकारी दिए ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मले एञ्जिला तुम्बापो सुब्बाको जीवन कथा भन्छ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिलाको जीवनीलाई दर्शकले निकै रुचाएका छन् ।

फिल्ममा एञ्जिलाको साथमा दयाहाङ राई, विजय बराल, श्रृजना सुब्बा, माओत्से गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । देश तथा विदेशबाट यो फिल्मले दर्शकको राम्रो साथ पायो । फिल्म चल्दा निर्देशक मिलन चाम्सलाई निकै फाइदा भयो । निर्माता प्रेमकुमार श्रेष्ठ पहिलो फिल्मबाटै निर्माणमा उदाए ।