काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहमाथि तल्लो वर्गमाथि दमन गर्दै जीविकोपार्जनमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै पूर्वमन्त्री हरि प्रसाद उप्रेतीसहितको टोली र कवाड व्यवसायीहरू अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पुगेका छन्।
उनीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर कवाड व्यवसाय बालेनको कडाइका कारण संकटमा परेको भन्दै अर्थमन्त्री पौडेललाई लिखित ज्ञापन पत्र बुझाएका हुन्। सो ज्ञापनमार्फत व्यवसायीहरूले महानगरको ‘गुण्डागर्दी शैली’ र अत्याचार रोक्न आग्रह गरेका छन्।
ज्ञापन पत्रअनुसार, विगत दुई वर्षदेखि काठमाडौं महानगरले प्रहरी परिचालन गरेर कवाड व्यवसायी तथा संकलकहरूमाथि कुटपिट, अपहरण, संरचना भत्काउने, र समान जफतजस्ता गतिविधि गर्दै आएको छ। यसबाट करिब एक लाख व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्।
कवाड व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताका अनुसार, व्यवसायीहरूले राज्यलाई नियमित कर तिर्दै आएका छन् र देशका मेटल उद्योगहरूलाई आवश्यक कच्चा पदार्थ पनि आपूर्ति गर्दै आएका छन्। तर, महानगरको व्यवहार अमानवीय रहेको उनले बताए।
‘काठमाडौं महानगरको प्रहरी कुटपिटबाट दर्जनौँ व्यवसायी गम्भीर घाइते भएका छन्, कोहीको टाउको फुटेको छ भने कोही अंगभंग भएका छन्,’ गुप्ताले भने, ‘बालेन साहले काठमाडौंबाट गरिब र तल्लो वर्गलाई हटाउने नीति अपनाएको देखिन्छ।’
उनले बालेनको कडाइका कारण सयौं परिवार संकटमा परेको भन्दै कवाड व्यवसायीको जिउधन र जीविकोपार्जनको सुरक्षाका लागि अर्थमन्त्री पौडेलको तत्काल हस्तक्षेप आवश्यक भएको उल्लेख गरेका छन्।
प्रतिक्रिया