काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फेरि उजुरी परेको छ।
सिन्धुलीका युवराज सफलले बिहीबार आयोगमा उजुरी दर्ता गराउँदै, बालेनले व्यक्तिगत प्रयोगका लागि बिना टेन्डर र प्रतिस्पर्धा करिब एक करोड रुपैयाँ लागतमा लिफ्ट जडान गरेको आरोप लगाएका छन्।
उनको दाबी अनुसार, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ११ र सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत प्रक्रियामा लिफ्ट जडान गरिएको हो। उजुरीपत्र (दर्ता नम्बर सि–०७५०४३) मा उल्लेख गरिएको छ, ‘काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहकै लागि विशेष रूपमा लिफ्ट जडान गरिएको महानगर स्रोतले जनाएको छ।’
सफलले लिफ्ट निर्माणका क्रममा कुनै टेण्डर आह्वान नगरिएको, प्रतिस्पर्धी प्रक्रिया नअपनाइएको र कोटेसनसमेत नलिइएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। यद्यपि, उनी लिफ्ट जडानमा स्वयं विरोधी नरहेको तर प्रक्रिया अपारदर्शी भएकोमा असन्तुष्टि व्यक्त गर्छन्।
उनले अख्तियारसँग लिफ्ट निर्माणसँग सम्बन्धित सबै कागजात—जस्तै टेन्डर सूचना, बोलपत्र दस्तावेज, निर्माण कम्पनीको विवरण, स्वीकृति फाइल, भुक्तानी विवरण र बिल भौचर—झिकाई सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीको माग गरेका छन्।
सफलको उजुरीमा भनिएको छ, ‘नयाँ लिफ्ट निर्माणमा भएका अनियमितता र सम्भावित भ्रष्टाचारबारे छानबिन गरी कानून अनुसार कारबाही गर्न अनुरोध गर्दछु।’
यसअघि पनि मेयर बालेन शाहविरुद्ध अख्तियारमा धेरै उजुरीहरू परिसकेका छन्।
प्रतिक्रिया