भिजिट भिसा प्रकरण : छानबिन समिति गठनको लिखित प्रतिबद्धतामा कांग्रेस–एमाले सहमत


काठमाडौं — भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न सत्तारूढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन्।

प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्रीसम्बन्धी भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन लिखित प्रतिबद्धता भए मात्र संसद् अवरोध हटाउने अडान लिएका थिए। त्यसैअनुसार, कांग्रेस र एमालेका प्रमुख सचेतकहरूले छानबिन समिति गठन गर्ने लिखित प्रतिबद्धता जनाएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो।

उक्त छलफलमा सत्तारूढ दलका प्रमुख सचेतकहरूले समिति गठनको प्रतिबद्धता जनाएका हुन्। प्रतिपक्षको प्रस्तावमा सत्ता पक्ष छलफल गर्न तयार भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सारिएको छ।