काठमाडौं – इजरायलको आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) प्रमुख मेजर जनरल हुसेन सलामी मारिएका छन्। उनीसँगै सेनाका अरू तीन प्रमुख अधिकारी पनि मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हुसेनलाई इरानका सर्वोच्च नेता आयोतोल्लाह अल खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए। इजरायलले आइआरजिसीको मुख्यालयमै हवाई आक्रमण गरेको बताइएको छ। यो घटनाले निकट भविष्यमै इरान र इजरायलबीच युद्धको खतरा देखिएको छ ।
इरानका सर्वोच्च नेता खामेनीले इजरायली आक्रमणको जबाफ दिने बताएका छन्। उनले इरानले दिने जवाफ कडा र कठोर हुने भनेका छन्। ‘यो अपराधका साथ यहुदी शासकले आफूलाई तीतो र पीडादायी भाग्यको लागि तयार पारेको छ र उसले यसको परिणाम भोग्ने निश्चित छ,’ खामेनीले भनेका छन्।
इरानमा आक्रमण गरेपछि इजरायलले देशभरि आपतकाल घोषणा गरेको छ। इजरायलले इरानको सम्भावित जबाफको पूर्वतयारीस्वरूप देशव्यापी आपतकाल घोषणा गरेको हो। विद्यालय बन्ददेखि अस्पतालमा समेत बहिरंगबाहेकका सेवा बन्द गर्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलमाथि सुरक्षा चुनौती देखिएका कारण हमला गरिएको भनेका छन्। उनले इरानी आणविक भट्टी र हतियार कारखाना नष्ट नपारून्जेल आक्रमण जारी रहने पनि चेतावनी दिएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रूबिओले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न इरानलाईं चेतावनी दिएका छन्। उनले इजरायलले इरानमा गरेको आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन्। ‘इरानमाथि इजरायलले गरेको आक्रमणमा हाम्रो संलग्नता छैन। मध्यपूर्वमा रहेका हाम्रा सैनिकहरूको रक्षा हाम्रो पहिलो दायित्व हो। इरानले जबाफी हमलाको रूपमा हाम्रा सैनिक शिविरमा आक्रमण नगरोस्,’ रूबिओले भनेका छन्।
प्रतिक्रिया