पलले किन छाडे ‘महाराजधिराज’ ?



नायक पल शाह फिल्म ‘महाराजधिराज’बाट बाहिरिएका छन् । बिहिबार बेलुकी सामाजिक संजालमा स्टाटस लेख्दै पलले आफू अब यो फिल्मको हिस्सा नभएको उल्लेख गरेका छन् ।

उनले, फिल्मको निर्माण टिमसँग सहमती गरेरै कागजी संझौता अन्त्य गरेको घोषणा गरेका हुन् । पलले आफ्नो होम प्रोडक्सनको फिल्म ‘यानीमाया’को सेड्यूलसँग ‘महाराजधिराज’को सेड्यूल जुध्ने भएपछि फिल्म छाडेको उल्लेख गरेका छन् ।

उनले, आफ्नो होम प्रोडक्सनको फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराख्ने पनि लेखेका छन् ।

यता, फिल्मको निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले पनि पलसँगको सहकार्य अन्त्य भएको उल्लेख गरेको छ । फिल्मका प्रस्तुतकर्ता विराज विष्टले पलसँग सहमतीमै सहकार्य अन्त्यको घोषणा गरेका हुन् । उनले, अबको दिनमा यो विषयमा दुवैले जवाफ नदिने पनि लेखेका छन् ।

पलले केही महिना अगाडि यो फिल्म साइन गरेका थिए । पलपछि फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, वर्षा राउत, पुष्प खड्का, जयकिशन वस्नेत, वर्षा सिवाकोटी लगायतका कलाकारहरुले यो फिल्म साइन गरिसकेका छन् ।

फिल्मलाई दशैंमा रिलिज गर्ने घोषणा पनि गरिएको थियो । तर, अब यो फिल्म दशैंमा रिलिज नहुने पक्का भएको छ । फिल्ममा अब पलको स्थानमा कसले काम गर्छ भन्ने खुलाइएको छैन ।