काठमाडौं – गत चैत १५ मा तीनकुनेको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।बिहीबार मध्यराति न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको हो । घटनामा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।
तीनकुने घटनामै सलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको हकमा भने उनीहरू अदालतमा उपस्थित भएपछि मात्र आदेश हुने भएको छ । हाजिरी जमानीमा छुटेका उनीहरू अहिले फरार छन् । राणा उपचार फलोअपका लागि छुटेका थिए । मिश्र भने बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा हिरासतमुक्त भएका थिए । केही दिन राप्रपाको केन्द्रीय समिति बैठकमा उपस्थित भएका मिश्र र राणा दुवै अहिले सम्पर्कविहीन छन् ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले मुख्य आरोपी प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा पुर्पक्ष पठाउने आदेश गरेको बताए । प्रसाईसहित सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ र दण्डपाणि रेग्मीलाई थुनामा राख्ने आदेश भएको छ । अन्य ३२ जना धरौटीमा छुटेका छन् । जिल्लाको आदेश बदर गराउन उच्च अदालत जाने अधिवक्ता स्वागत नेपालको भनाइ छ ।
प्रतिक्रिया