विराटनगर — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको अवरोध हटाउने निर्णय कुनै सेटिङ वा गोप्य सहमति नभएको प्रस्ट पारेका छन्।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद् पुनः सञ्चालनको निर्णय राष्ट्र र जनताको दीर्घकालीन हितमा आधारित रहेको बताए। “देश र जनताको लागि कहिलेकाहीँ अघि बढ्ने, कहिलेकाहीँ पछि हट्ने निर्णय आवश्यक पर्छ,” उनले भने, “यो निर्णय एक महिनाभित्र छानबिन समिति गठन गर्ने सहमतिपछि लिइएको हो।”
गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा प्रकरणबारे पनि दाहालले सरकार गम्भीर रहेको उल्लेख गरे। “यो केवल गृहमन्त्रीको विषय होइन। यो धेरै समयदेखि चल्दै आएको जटिल समस्या हो, जसका लागि गहिरो अध्ययन, संरचनात्मक सुधार र नीतिगत पहल आवश्यक छन्,” उनले भने।
गृहमन्त्रीले संसद्मै एक महिनाभित्र सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाइसकेको उल्लेख गर्दै दाहालले नेपाली कांग्रेससँग सुटुक्क सहमति भएको भन्ने आरोपलाई अस्वीकार गरे। “यो सहमति कुनै व्यक्तिलाई जोगाउन होइन, प्रणाली सुधार गर्ने उद्देश्यले भएको हो,” उनले स्पष्ट पारे।
प्रतिक्रिया