प्रतिनिधिसभाको बैठक बस्दै, रास्वपाले अवरोध जारी राख्ने


काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक बस्नुअघि सभामुख देवराज घिमिरे र विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुबीच छलफल भइरहेको छ । सभामुखको सचिवालयका अनुसार सिंहदरबारमा जारी बैठकमा संसदको अवरोध, संसदको क्यालेन्डरलगायत विषयमा छलफल भइरहेको छ ।

भिजिट भिसा प्रकरणलाई लिएर गत जेठ १३ गतेदेखि संसद् बैठक अवरोध हुँदा बजेटमाथिको छलफलसमेतको कार्यतालिका प्रभावित भएको छ । प्रमुख प्रतिपक्षी दल माओवादीले सत्ता पक्षसँग दुई बुँदे सहमति भएसँगै गत शुक्रबारबाट अवरोध गर्न छाडेको छ भने रास्वपा, राप्रपालगायत दलले अवरोध जारी राखेका छन् ।

आजको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध जारी राख्ने बताएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने रास्वपाको अडान छ । तर सत्ता पक्षले भने संसदीय समिति पनि नबन्ने र गृहमन्त्री रमेश लेखकले पनि राजीनामा नदिने स्पष्ट पारिसकेको छ । रास्वपा र राप्रपा सांसदको विरोध र नाराबाजीकै बीचमा बजेटमाथिको छलफल प्रक्रिया अगाडि बढाउने निष्कर्षमा तीन दल पुगेका छन् ।