दिलभुषण जोगाउन नगरकोटमा सम्पादकको भेला, छोरी भने आरजुकै युलियन्समा पढ्छिन्


काठमाडौं – यतिबेला सञ्चारकर्मी दिलभुषण पाठकमाथि ठूलो संकट आइलागेको छ । हिल्टन होटलको विषयमा आफ्नो पोडकास्टमा बोलेका कुराले उनी विवादमा तानिएका हुन् ।

पाठकले पोडकास्टमा कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाले हिल्टन होटल किनेको उल्लेख गरेका थिए । तर त्यसमा कहिले किनेको, कतिमा किनेको, कति लगानी छ भन्ने केही उल्लेख थिएन । युट्युबबाट प्रकाशित पोडकास्ट प्रेस काउन्सिलमा दर्तासमेत छैन । पाठकले आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले अपुष्ट र अप्रमाणित खबर प्रसारण गरेको भन्दै जयवीरले प्रहरीको साइबर ब्युरोमा उजुरी दिए । त्यसपछि काठमाडौं जिल्ला अदालतले उनलाई कारबाहीका लागि पक्राउ पुर्जी जारी गरिसकेको छ ।

अहिले पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी रोक्न एउटा पक्ष लागिपरेको छ । जसमध्ये शुक्रबार र शनिबार ३५ जना सम्पादक नगरकोटमा भेला भए । ती सबै पाठकको सम्भावित पक्राउ रोक्न भेला भएका थिए । यदि पाठकले आफ्नो पोडकास्ट प्रेस काउन्सिलमा दर्ता गरेको भए अहिले उनी लुकेर हिँड्नुपर्दैनथ्यो । काउन्सिल नै उनको पक्षमा उभिन्थ्यो । तर त्यसो नभएपछि केस सिधै प्रहरीको साइबर ब्युरो पुगेको हो । यदि पाठक पक्राउ परेमा ६ महिना हिरासतमा बस्ने निश्चित छ । त्यही भएर पाठकले प्रेस काउन्सिललाई इमेलमार्फत पत्र लेखेर अहिलेको केसको नेतृत्व लिन आग्रह गरेका छन् । तर यहीबेला काउन्सिलमा अध्यक्ष पद रिक्त छ ।

लामो समय विभिन्न टेलिभिजनमा सम्पादक भएका पाठक आफूले बोलेको कुरालाई अकाट्य प्रमाण ठान्ने हुँदा परिबन्धमा परेका छन् । उनै पाठककी छोरी वाणिविलास पाठक भने परराष्ट्रमन्त्री आरजु राणा देउवाको लगानी रहेको युलियन्स स्कुलमा अध्ययरत छिन् । युलियन्स निकै महँगो स्कुलमा पर्छ । सोर्सफोर्स वा आफैंले लगानी गरेर एउटा पत्रकारले युलियन्स जस्तो महँगो स्कुलमा कसरी पढाउन सके होलान् भन्दै अहिले सर्वत्र चासो उत्पन्न भएको छ । पाठककी छोरीले शनिबार आयोजित फेयर वेल कार्यक्रममा परराष्ट्रमन्त्री राणासँग हात नमिलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नयाँ तथ्य बाहिर आएको हो । धेरैले बाबुलाई दिएको यातनाको वाणिविलासले बदला लिएको टिप्पणी गरेका छन् । केहीले भने त्यत्रो महँगो स्कुलमा पढाउँदा पनि पाठककी छोरीमा संस्कार नभएको टिप्पणी गरेका छन् ।