संसदमा तमासा, विपक्षी दलमै छैन एकता, रास्वपा नाराबाजी गरिरहने, राप्रपा बहिष्कार गर्ने


काठमाडौं – राजनीतिक दलहरूले संसदीय व्यवस्थाको हुर्मत लिएका छन् । बेस्ट मिनिस्टर शासन पद्धतिमा संसद् विपक्षीको मानिन्छ । तर नेपालमा भने ठीक उल्टो छ ।

संसदमा एकजना सांसद मात्र उभिए भने संसदको कार्यबाही अघि बढ्दैन । तर प्रतिनिधिसभाको आइतबारको बैठकमा तमासा देखिएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी सत्ता पक्षसँग मिलेर मौन छ । अर्को विपक्षी दल रास्वपाका सांसद नाराबाजी गरिरहेका छन् । राप्रपा सांसदहरू भने बहिष्कार गरेर हिँडेका छन् ।

विरोधका बीच पनि सभामुख देवराज घिमिरेले बैठक चलाएको भन्दै राप्रपाले बैठक बहिष्कार गरेको हो । राप्रपाले सदनमा अवरोध भएका बेला कारबाही अगाडि नबढाउन आग्रह गरेको थियो । रास्वपाले वेल घेराउ र राप्रपाले उठेर विरोध गरे पनि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक निरन्तर अगाडि बढाएका छन् ।

त्यसअघि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले विरोधका बीच संसद् बैठक चलाइएको भन्दै आपत्ति जनाएका थिए । उनले विरोधबीच संसद् बैठक चलाएर दादागिरी देखाएको आरोपसमेत लगाएका थिए । ‘संसद्‍मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ । उहाँहरू पनि, हामीहरू पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नुस्,’ शाहीले भनेका थिए । तर सभामुख घिमिरेले त्यसलाई वास्ता गरेनन् । संसदको कार्यबाही अघि बढाएका छन् ।

संसदमा विपक्षी दलबीच नै एकता छैन । माओवादीले रास्वपा र राप्रपाको साथ छाडेको छ । भिजिट भिसा प्रकरणमै तीन विपक्षी दल तीनतिर देखिएका हुन् । अहिले पनि रास्वपा सांसदहरू वेल घेराउ गर्न पुगेका छन् । धेरैबेर उभिएर खुट्टा थाकेपछि उनीहरू बसेर नाराबाजी गरिरहेका छन् ।