संसदमा संघीय निजामती विधेयक पेस, कुलिङ पिरियड दुई वर्ष राखियो


काठमाडौं – प्रतिनिधिसभामा संघीय निजामती विधेयक पेस भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सम्बन्धित संसदीय समितिमा छलफल भई बहुमतले पारित विधेयक पेस गरेका हुन् ।

संसदीय समितिमा छलफल भई पारित भएको यो विधेयक छलफलका लागि पेस गरिएको हो । अब सांसदहरूले विधेयकमाथिको छलफलमा भाग लिई पारित गर्नुपर्ने हुन्छ ।

समिति सभापति खतिवडाले बहुचर्चित कुलिङ पिरियडलाई दुई वर्ष कायम राखेको जानकारी दिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा बनेको उपसमितिले विभिन्न मितिमा बैठक बसी बहुमतले पारित भएको उनले बताए ।
खतिवडाका अनुसार अब निजामती कर्मचारीले कुनै पनि सरकारी निकायमा नियुक्ति खान अवकाशको दुई वर्षसम्म पाउने छैनन् । सरकारले निजामती कर्मचारीको सेवा अवधि ६० वर्ष कायम गरेको छ । यस आधारमा अब ६२ वर्ष भएपछि मात्रै नियुक्ति खान पाउने, त्यो पनि तीन वर्षमात्रै कार्यकाल हुने भएको छ ।

विधेयकमा कुनै पनि सरकारी कर्मचारीले दोहोरो तेहोरो सुविधा लिएको भए खाइपाइ आएकाबाट असुलउपर गरिने प्रावधान राखिएको छ । अहिले पनि धेरै पूर्वप्रशासकले राज्यबाट दोहोरो तेहोरो सुविधा लिइरहेका छन् । यो विधेयक कानुनका रूपमा आएपछि त्यसमा रोक लाग्नेछ ।

दफावार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते समितिको बैठकमा नेपाल सरकारको तर्फबाट उक्त विधेयक ल्याउन पर्नाको कारण उद्देश्य र औचित्यबारे विभागीय मन्त्रीले जानकारी गराएका थिए ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको सभापति खतिवडाले जानकारी दिए । यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक रहेको पनि उनले दाबी गरे । समितिले समितिमा पेश गरेको प्रतिवेदनको नाम ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ राखेको छ ।’