सभामुखले हामीलाई धोका दिनुभयो, सदन सरकारको छायाँको रुपमा प्रभावित भयोः मनिष झा



राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले सदन सरकारको छायाँको रुपमा प्रभावित भएको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सभामुख देवराज घिमिरेले आफूहरुलाई धोका दिएको बताए ।

आज विहान बसेको बैठकमा सभामुख घिमिरेले पहिला रास्वपालाई बोल्न दिने सहमति गरेर बैठक सुरु भएपछि सत्ता पक्षलाई दिएको उनले बताए । जुनकुरा नियमावलीको विरुद्धमा रहेको पनि उनको भनाइ छ ।

‘सभामुखज्यूले विहान केही पहल गर्नुभएको थियो । हामीहरुलाई बोलाएर हाम्रा नेताहरुसँग छलफल गर्नुभएको थियो । तर, उहाँले हामीलाई धोका दिनुभयो । हाम्रो माग के थियो भने– हामीलाई पहिला आफ्नो कुरा राख्न दिनुस् भन्ने थियो । ल हुन्छ तपाईहरुले भनेकोजस्तै म तपाईँहरुलाई सुरुमा आफ्नो कुरा राख्न दिन्छु भन्नु भएको थियो । बैठक सञ्चालन भएपछि हामीले थाहा पायौं हामीलाई धोका दिनुभएको रहेछ । सभामुखबाट हाम्रो त्यो अपेक्षा थिएन

साथै, उनले सदन सरकारको छायाँको रुपमा प्रभावित हुनु लज्जाको विषय रहेको बताए । यसबाट आफूहरु निकै दुःखी रहेको पनि उनले सुनाए । ‘सरकारको छायाँको रुपमा सदन प्रभावित भइराखेको छ । यो संसदीय मर्यादाको लज्जाको क्षणजस्तो देखिएको छ । यसमा हामी दुःखी छौं,’– उनले भने ।