संसद्मा सभामुख घिमिरेले दादागिरी शैली प्रदर्शन गरेको राप्रपा प्रमुख सचेतक शाहीको आरोप


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं संसदीय दलका मुख्य सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरेले दादागिरी शैलीमा सदन चलाएको बताएका छन् ।

आज (आइतबार) नेता शाहीले प्रतिपक्षी दलको विरोधको वाबजुद पेलेर नै संसद् अगाडि बढाउने प्रयास गरेको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले भिजिट भिसा प्रकरण छानविनका लागि समिति बन्नुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । प्रतिपक्षी दलहरुले नाराबाजी गरिरहँदा सभामुख घिमिरेले भने पेलेर नै संसद् अगाडि बढाएका छन् ।

‘संसद्मा आन्दोलन भइरहँदा संसद् चलाउनु उचित हुन्छ ? उचित हुँदैन भन्ने मलाई लाग्छ सम्माननीय सभामुखज्यू । त्यही भएर कुरा केही नराखी उहाँहरु पनि हामी पनि जनताले जिताएको जनप्रतिनिधि हो । भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्ने भन्ने मागमा सबैले साथ दिनुस् । यसरी संसद चलाउनु यो संसदीय अभ्यास होइन । यो दादागिरी हो । दादागिरी बन्द गर्नु्स्,’– सभामुख घिमिरेलाई सम्बोधन गर्दै नेता शाहीले भने ।