काठमाडौं । प्रहरीले पक्राउ पुर्जी जारी गर्न लागेको समाचार सुनेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी सोमबार बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए ।
तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए । राणाविरुद्ध राज्यविरुद्धको कसुरसहित चारवटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।
तीनकुने घटनामा दुर्गा प्रसाईलगायतलाई मुख्य आरोपी करार गर्दै अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा पाँचवटा कसुर लागेको राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै फरार छन् । मिश्र र राणा अदालतमा उपस्थित नभएको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गर्न लागेको थियो ।
प्रतिक्रिया