सदनमा पेलाइमा परेपछि नयाँ रणनीति बनाउन जुट्यो रास्वपा, रविबारे महत्वपूर्ण निर्णय लिइने


काठमाडौं । सदनमा पेलाइमा परेपछि रास्वपा आन्तरिक रणनीति बनाउन जुटेको छ । सभामुख देवराज घिमिरेले पेलेरै संसद् चलाएपछि रास्वपाले सोमबारदेखि कस्तो रणनीति बनाउने भन्ने सिर्वत्र चासो उत्पन्न भएको छ । रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले सोमबार सभमुख घिमिरेलाई उनकै कार्यकक्षमा भेटेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसदहरूले नाराबाजी गरिरहे पनि सभामुख घिमिरेले सदनको कारबाही अघि बढाएका थिए । रास्व्पाले वेल घेराउसमेत गरेको थियो । तर सदनको कारबाही रोकिएन । आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेका छन् र उनको पार्टीका सांसदहरूले अन्य पार्टीलाई कुन आधारमा नैतिकताको कुरा गरिरहेका छन् भन्दै प्रश्न गरेपछि रास्वपा दबाबमा परेको छ ।

‘सार्वजनिक रूपमा प्रश्न उठेपछि उठेका प्रश्नबारे कसरी जवाफ दिने भनेर हामी आन्तरिक छलफलमा छौँ’, रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘आइतबार पनि एक चरण छलफल भएको छ । आज सोमबार थप छलफल गर्छौँ ।’ विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् ।

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन भइरहेको छ । सोही जानकारी प्रहरीले संघीय संसद् सचिवालयलाई गराएपछि गत पुस ८ गते सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बनमा रहेको जानकारी गराएका थिए । आइतबार मात्र रविविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग पत्र दर्ता भएको छ ।

यो उनीविरुद्ध अदालतमा पाँचौं मुद्दा दर्ता भएको हो । रविविरुद्ध साढे पाँच करोडको बिगो मागदाबी गरिएको छ । अभियोग पत्रमा रविले सानोपाइला सहकारीबाट एक करोड ५० लाख व्यक्ति कर्जा लगेको र उनी एक लाख रुपैयाँ हालेर सेयर सदस्य बनेको उल्लेख छ ।