फेसबुकमा अलिबदा लेखेका डा. केशव श्रेष्ठ सम्पर्कविहीन, मोबाइल स्विच्ड अफ


काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अल विदा लेखेर डा. केशव श्रेष्ठ सम्पर्कविहीन भएका छन् । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको स्टाटसमा उल्लेख छ । चितवनका श्रेष्ठको मोबाइल स्विच्ड अफ छ ।

प्रहरीले उनको खोजी सुरु भइसकेको जनाएको छ । श्रेष्ठको विषयमा जिल्ला प्रहरी कार्यालय रामछाप र काठमाडौंको टोलीले खोजी कार्य अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीपकुमार सिंहले श्रेष्ठको मोबाइल अफ भएको र लोकेशन ट्रयाक गर्दा काठमाडौंको चावहिलमा देखिएकोले काठमाडौं परिसरको प्रहरीले खोजीकार्य अघि बढाएको बताए । श्रेष्ठ असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए ।

उनी रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा थिए । उनले २५ महिना अस्पतालमा काम गरेको र त्यसमध्ये १८ महिना निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको बताएका छन् । उनले रामेछाप–८ का पूर्ववडाध्यक्ष केदार कार्कीले अनुचित दबाब र धम्की दिने गरेकोलगायत आरोपसमेत लगाएका छन् ।

‘करिब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित मेडिकल सुपरिण्टेंडेन्ट भएर चलाउने मौका पाएँ। दिनरात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागे। म प्रमुख भएपछि काम चोर्ने, ठग्ने, कार्यकक्षमा नबस्ने कर्मचारीहरूको भागाभाग हुन थाल्यो,’ उनले लेखेका छन् ।

केदार कार्कीले मागेको पैसा नदिँदा, उसले भनेको कार्यालय सहयोगीलाई जागिर नलगाउँदा आफूमाथि रिसइबी साँधिएको पनि बताएका छन् । ‘स्पष्टीकरण सोधेका ३ जना डाक्टर अनि अरु दुईजना महिला (डाक्टर) गरेका डलाई प्रयोग गरेर अहिले मलाई विभिन्न झुटा आरोप लगाएर मेरो सरुवा गराए,’ श्रेष्ठले लेखेका छन्, ‘हाम्रो अस्पतालको अधक्ष्यज्यूको अगाडि तीन दिनमा तेरो सरुवा गरिनँ भने मेरो नाम पनि केदार होइन भनेर धम्की दिएर हिँड्यो ।’