आज १००औँ टी–२० अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग खेल्दै नेपाल


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार आफ्नो १००औँ टी–२० अन्तर्राष्ट्रिय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपालले सन् २०१४ मा पहिलोपटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त टी–२० क्रिकेट खेलेको थियो । त्यसयता नेपालले कुल ९९ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ ।

सोमबार नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदा नेपाल १००औँ अन्तर्राष्ट्रिय टी–२० खेल जित्ने दाउमा हुनेछ । स्कटल्यान्डको ग्लासगोमा यो खेल नेपाली समयानुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् ।

शृंखलामा नेपालको यो पहिलो खेल हो । नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो । शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा हुने छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए ।