काठमाडौं । होटल हिल्टन प्रकरणमा पक्राउबाट बच्न सञ्चारकर्मी दिलभूषण पाठक अदालत पुगेका छन्। आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरूद्ध उनले आइतबार उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए। रिटमा सोमबार पेसी तोकिएको उच्च अदालत पाटनले जनाएको छ ।
पाठकले दिएको निवेदनबारे न्यायाधीश ऋषिराज भण्डारीको इजलासले सुनुवाइ गर्ने तय भएको छ। उनीविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
पाठकले हिल्टन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत झन्डै चार साताअघि पाठकले भिडिओ सार्वजनिक गरेका थिए। देउवा पुत्र जयवीरले सो भिडियो रिपोर्टबाट आफ्नो चरित्रहत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो।
जिल्ला अदालतले कार्यक्षेत्रबाहिर गएर पक्राउ पुर्जी जारी भएको भन्दै विरोध पनि भइरहेको छ । पाठक प्रकरणमा नेपाली मिडिया र समाज दुई भागमा विभाजित भएको छ । सरकारी निकायमा दर्ता नै नगरी सञ्चालनमा रहेकाले पाठकविरुद्ध साइबर क्राइम आकर्षित भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया