काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अल विदा लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ तारकेश्वरस्थित एक रिसोर्टमा फेला परेका छन् । प्रहरीको टोलीले सोमबार दिउँसो उनलाई रिसोर्टमा फेला पारेको हो । सुरुमा चाबहिलमा मोबाइल लोकेसन ट्रयाक गरेको प्रहरीले पछि बालाजुमा अन्तिम लोकेसन पत्ता लगाएको थियो ।
काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार डा.श्रेष्ठलाई परिवारको जिम्मा लगाइएको छ । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको फेसबुकमा लेखेका थिए । श्रेष्ठ असार मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौडा सरुवा भएका थिए । उनी रामेछाप अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा थिए ।
उनले २५ महिना अस्पतालमा काम गरेको र त्यसमध्ये १८ महिना निमित्त मेडिकल सुपरिटेन्डण्टका रुपमा अस्पताल सुधार्न खोजे पनि राजनीतिक दबाब र धम्की आएको बताएका छन् । उनले रामेछाप–८ का पूर्ववडाध्यक्ष केदार कार्कीले अनुचित दबाब र धम्की दिने गरेकोलगायत आरोपसमेत लगाएका छन् ।
२५ महिनाअघि रामेछाप अस्पतालमा सरुवा भएर आएका श्रेष्ठले १८ महिनादेखि अस्पतालको निमित्त प्रमुख भएर काम गरिरहेका थिए । बागमती प्रदेशको लोकसेवा आयोगबाट नाम निकालेर रामेछाप आएका उनले १८ महिनामा अस्पताललाई १५ शय्याबाट ५० मा स्तरोन्नति गराएका थिए ।
राजनीतिक हस्तक्षेप र कर्मचारीको असहयोगले आफूलाई पीडाबोध गराएको उनले उल्लेख गरेका छन् । सिस्टममा नबसेका कर्मचारीलाई कारबाही थालेपछि आफूमाथि अभद्र व्यवहार र हात हाल्नेसम्मको काम भएको पनि उनले लेखेका छन् । अस्पतालमा भइरहेको सबै गतिविधि मन्त्रायलाई जानकारी गराए पनि उल्टै आफूलाई अन्याय गरेको उनले उल्लेख गरेका छन् । उनकै कार्यकालमा रामेछाप अस्पताल बागमती प्रदेशको दोसो उत्कृष्ट अस्पताल बन्न सफल भएको थियो ।
प्रतिक्रिया