संसदमा सांसदहरुले मोजा गन्हाएको भनेपछि…


काठमाडौं । सोमबार पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । रास्वपाका सांसदहरू वेलमा जुत्ता खोलेर पलेंटी कसेर बसेका छन् । सभामुख देवराज घिमिरेले रास्वपा सांसदको नाराबाजीका बीच पनि सदनको कारबाही जारी राखेका छन् ।

संसदमा बजेटमाथिको छलफल जारी छ । विभिन्न दलका सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । यहीबीचमा एमाले सांसद दामोदर बैरागीले रास्वपा सांसदले गरेको विरोध प्रदर्शनको शैलीप्रति नियमापत्ति जनाएका छन्। उनले रास्वपाका सांसदहरूले सभामुखको आसनअगाडि जुत्ता चप्पल खोलेर ध्यान गरेजस्तो गरी बसेर संसदीय मर्यादाको उल्लंघन गरेको बताए।

बैठकमा नियमापत्ति गर्दै उनले भने, ‘सम्माननीय सभामुखको ड्यासतर्फ, सभामुखको आसनतर्फ चप्पल, जुत्ता खोलेर ध्यान गरे जस्तो गरेर यो विरोध गर्ने, यो चाहिँ संसदीय मर्यादा भएन। यो संसदीय मर्यादा कायम गर्नका लागि म सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु।’ बजेटमाथि धारणा राख्ने सांसदहरूले मोजा गन्हाएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।