काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मंगलबार बिहान अदालतमा उपस्थित भएका हुन्। उनको आजै थुनछेक बहस हुने बताइएको छ।
राप्रपा महामन्त्री धवलशमशेर जबरा सोमबार तीन लाख धरौटीमा छुटेका थिए । राणा धरौटी छुटेपछि सोही मुद्दाका प्रतिवादी मिश्र पनि अदालतमा आफैं उपस्थित भएका हुन् । गत जेठ ११ मा मिश्रविरुद्ध चारवटा मुद्दामा अभियोजन गरिएको थियो । मिश्रविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको हो ।
तीनकुने घटना भएको चैत १५ कै राति मिश्र पक्राउ परेका थिए । पक्राउविरुद्ध उनी सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट बोकेर सर्वोच्च पुगेका थिए । जसमा सर्वोच्चले उनलाई रिहा गर्न आदेश दिएको थियो । सो आदेशलगत्तै हाजिर जमानीमा रिहा भएका उनी सम्पर्कविहीन हुँदै आएका थिए । अदालतमा उपस्थित नभएपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको थियो ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा छुटेका मिश्र त्यसयता सार्वजनिक कार्यक्रममा भने देखापरेका छैनन् । उनी एक दुईपटक पार्टीको बैठकमा भने उपस्थित भएका थिए । तीनकुने घटनाका आरोपी सबैलाई अदालतमा पेस गरी बयान लिने बेला मिश्र र राणा भने फरार भएका थिए ।
प्रतिक्रिया