काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा सबैलाई अलबिदा लेखेर सम्पर्कविहीन भएका डा.केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखक भेटेका छन् । श्रेष्ठले मंगलबार गृहमन्त्री लेखकलाई गृह मन्त्रालय पुगेरै धन्यवाद दिएका छन् । गृहमन्त्री लेखकको सक्रियताले प्रहरीले आफूलाई बचाएको भन्दै उनले धन्यवाद दिएका हुन् ।
डा. श्रेष्ठलाई सोमवार तारकेश्वरस्थित श्रीनाथ बुटिक रिसोर्टमा फेला पारी प्रहरीले श्रीमतीको जिम्मा लगाएको थियो । गृहमन्त्री लेखकले श्रेष्ठका समस्याबारे जानकारी लिएका छन् । उनले आफूलाई रामेछाप अस्पतालका महिला डाक्टर, कर्मचारी, पूर्ववडाध्यक्ष केदार कार्कीलगायतले यातना दिएकाले आत्महत्या गर्ने मनस्थितिमा पुगेको फेसबुकमा लेखेका थिए । श्रेष्ठ सम्पर्कविहीन भएपछि रामेछापमा दिनभरि तनाव छाएको थियो ।
रामेछाप अस्पतालका महिला डाक्टर र कर्मचारीले केही समयपछि श्रेष्ठका विषयमा सत्य तथ्य सार्वजनिक गर्ने बताएका छन् । श्रेष्ठले अस्पतालको कार्यबाहक मेडिकल सुपरिडेन्टेन्ट हुँदा निकै दुःख र पीडा दिएको बताएका छन् ।
प्रतिक्रिया