प्रचण्डप्रति सूर्य थापाको कटाक्ष, ०८४ को चुनावमा नौ सिट आउला


काठमाडौं – एमाले सांसद सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कटाक्ष गर्दै आगामी निर्वाचनमा नौ सिट आउने दाबी गरेका छन् । भिजिट भिसा प्रकरणमा सरकारसँग दुई बुँदे सहमति गरेपछि प्रचण्ड पखेटा काटिएजस्तै भएको पनि उनले टिप्पणी गरेका छन्।

‘दुई बुँदे सहमतिपछि प्रचण्डको विगत ६ सात महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको छ। म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसात् नै भयो। आफैलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो, फेरि हेरेर हाँस्न र रुन नमिल्ने गरी,’ थापाले मंगलबार फेसबुकमा लेखेका छन् ।
माओवादीकै नेता कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा नभई श्राद्ध गरिरहेको थापाको दाबी छ । ‘अनि, २०८४ मा बहुमत नै आउने त भयो, होइन । तर २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म, १७ को बहुमत ९ त आउला भनेर कामना गरौँ,’ उनले लेखेका छन् ।

जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबर्जस्तीको परिणाम अन्ततः सम्झौता गर्दासमेत प्रचण्डको जस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद् बैठकभित्र जारी पलेँटी कसेजस्तो हुने उनको भनाइ छ । ‘एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुईंमा निदाउनु पर्ने बोइलरहरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर रु त्यसै रत्नपार्क, कलङ्की र पोखराको चिप्लेढुंगामा नारा जुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि,’ उनले भनेका छन् ।