रास्वपाको विरोध जारी राख्ने अडान: निलो दोसल्ला’मा रास्वपा सांसदको विरोध प्रदर्शन, गृहमन्त्रीको राजीनामाको माग कायमै


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू भिजिट भिसा प्रकरणमा विरोध जनाउँदै घाँटीमा निलो दोसल्ला भिरेर संसद् भवन पुगेका छन्।

गृहमन्त्री रमेश लेखकको राजीनामा र मानव तस्करीसम्बन्धी उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै रास्वपाले संसद् अवरुद्ध गरिरहेको छ। आजको विरोधमा उनीहरूले निलो रंगको प्रतीकात्मकता प्रयोग गर्दै फरक शैली अपनाएका हुन्।

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि संसद् भवनअगाडि सामूहिक तस्बिर खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘आन्दोलन जारी छ।’

त्यस्तै, उप–सभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू डा. तोसिमा कार्की, सविता गौतम, निशा डाँगी, सुमना श्रेष्ठ, हरि ढकाल, सन्तोष परियार, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, असिम शाह, मनीष झा, लक्ष्मी तिवारी, डा. चन्दा कार्की, अशोककुमार चौधरी, शिव नेपाली, विनिता कठायत लगायतले पनि सामाजिक सञ्जालमा ‘आन्दोलन जारी छ’ भन्दै विरोध जारी राख्ने अडान दोहोर्याएका छन्।

रास्वपाका अनुसार, भिजिट भिसाको नाममा मानव तस्करी भएको आशंकामा आवाज उठाउँदै आएको पार्टीले अब विश्वव्यापी रूपमा मानव तस्करीविरुद्धको प्रतीक मानिने ‘निलो’ रंगलाई विरोधको माध्यम बनाएको हो।