काठमाडौं — प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले निलो स्कार्फ (रिबन) लगाएर गरेको विरोध प्रदर्शनलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
मंगलबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदमा मर्यादित पोशाकको परिभाषामाथि प्रश्न उठाउँदै रास्वपाका सांसदहरूले लगाएको स्कार्फ नियम विपरीत भएको दाबी गरे। उनले निलो स्कार्फ संसदको औपचारिक ड्रेस कोडभित्र पर्छ कि पर्दैन भन्ने स्पष्टता माग गरे।
यसपछि मिडियासँग प्रतिक्रिया दिँदै रास्वपाकी सांसद डा. तोसिमा कार्कीले कांग्रेसको आपत्तिप्रति खरो जवाफ दिइन्। उनले भनिन्, “हामीले लगाएको निलो रिबनमाथि आपत्ति छ तर कुर्सी भाँच्नेहरूलाई केही छैन?” उनले परोक्ष रूपमा संसद अवरोध र हुलदंगा गर्ने परम्परागत शैलीका नेताहरूको व्यवहारप्रति टिप्पणी गरेकी थिइन्।
रास्वपाका अनुसार, मानव तस्करीविरुद्धको अन्तर्राष्ट्रिय रंग निलो भएकाले त्यसको प्रतीक स्वरूप सांसदहरूले स्कार्फ प्रयोग गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदमा विरोध जारी राखेका छन्।
प्रतिक्रिया