काठमाडौँ – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाले झन्डै एक महिनादेखि संसदमा विरोध गर्दै आएको छ । सुरुमा माओवादीले संसदमा प्रवेश गराएको यो एजेन्डा अहिले रास्वपाले बोकिरहेको छ । रास्वपाले हरेक संसद् बैठकमा विरोधको नयाँ नयाँ शैली अपनाएको छ । यसैक्रममा मंगलबार रास्वपा सांसदहरू निलो स्कार्फ लगाएर संसद् बैठकमा प्रस्तुत भए ।
रास्वपा सांसदहरू स्कार्फ लगाएर संसदमा प्रवेश गरेपछि विभिन्न दलका सांसदले आपत्ति जनाए । कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले त रास्वपा सांसदहरूलाई बाहिर निकाल्न सभामुखसँग माग पनि गरे । एमाले सांसदहरूले रास्वपाको हर्कतका कारण सांसद भन्न पनि लाज लाग्ने अवस्था आएको टिप्पणी गरे ।
तर कांग्रेसकै प्रभावशाली नेता अर्जुननरसिंह केसीले संसदमा प्रतीकात्मक विरोध स्वाभाविक भएको बताएका छन् । रास्वपा सांसदहरुले निलो रिबन लगाएर गएसँगै त्यसलाई सांसद केसीले उक्त प्रतीकात्मक विरोध स्वाभाविक भएको बताएका हुन् । उनले संसारभरिकै संसदमा पोशाकको कोड रहेको र नियमानुसार चलेको उल्लेख गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले जनाएको आपत्तिलाई अन्यथा लिन नहुने पनि बताए ।
सांसद केसीले विश्वभरमै विरोधका लागि विभिन्न पहिरन लगाएर संसदभित्र गएका उदाहरण रहेकाले रास्वपाको विरोधलाई पनि अन्यथा लिन नहुनेतर्फ संकेत गरे । ‘भारतमा कृषि विधेयकको सम्बन्धमा सांसदले कालोपट्टी बाँधेर संसदभित्र विरोध जनाएको, बेलायतमा ब्रेक्जिटको विरोधमा सांसदले काटो टिशर्ट लगाएर गएको, अमेरिकामा मिटु अभियानमा महिला सांसदले मिटु विरोधी अभियानको टिशर्ट लगाएको र अष्ट्रेलियामा ग्रीन पार्टीहरुले हरियो टिशर्ट लगाएर उपस्थित भएका थिए । धेरै ठाउँमा यस किसिमका विरोधका प्रकृति देखिन्छन्,’ उनले भने ।
नेपालमै यसअघि यस्ता किसिमका गतिविधि भएको स्मरण गर्दै सांसद केसीले भने, ‘कुर्सी भाँच्ने, ब्रिफकेस खोस्ने र सभामुखमाथि जुत्ता प्रहार गर्ने अमर्यादित काम त भएकै हुन्, २०७२ को संविधान जारी भएपछि मधेसवादी दलका सांसदले संसदमै धोती कुर्ता लगाएरमात्र होइन कालो पट्टी बाँधेरै विरोध गरेका थिए ।’ प्रतीकात्मक विरोध संसारभर चलेको उनको भनाइ छ ।
प्रतिक्रिया