काठमाडौं – अघिल्लो वर्ष असार १ गते नै मेलम्चीको सुरुङमार्ग बन्द गरिएको थियो । मुहानमा बाढीपहिरो आउने डरले सरकारले वर्षायाममा पानी वितरण गरेको थिएन । जसकारण राजधानीवासीले पिउने पानीका लागि निकै कष्ट खेपेका थिए ।
तर यस वर्ष भने अहिलेसम्म मेलम्चीको पानी निर्वाध ढंगले राजधानीवासीका घरका धारामा आइरहेका छन् । बर्खामा मेलम्चीको पानी कथंचित रोकिएमा मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो ।
काठमाडौँमा वर्षातको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न रिबर्मा खोलामा निर्माण गरिएको ट्यांकीको सोमबार खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा परीक्षण गरिएको थियो । परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङमार्ग हुँदै सोमबार राति रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौँ ल्याएर मंगलबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इन्जिनियर रत्नप्रसाद लामिछाने बताए ।
मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए ।
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट ५ देखि ७ करोड लिटर पानी र बागमतीबाट पनि ५ देखि ७ करोड लिटर पानी गरी कम्तीमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउने गरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
प्रतिक्रिया