मोडल तथा चर्चित टिकटकर प्रिन्सी खतिवडाले अब फिल्ममा डेब्यू गर्ने भएकी छिन् । उनले, भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘बाटुलो जुन’बाट डेब्यू गर्ने पक्का भएको छ ।
प्रिन्सीसँग निर्माणपक्षले कागजी संझौता गरिसकेको छ । यो फिल्मको हाल धमाधम वर्कशप चलिरहेको छ । प्रिन्सीले नायक अनमोल केसीसँग वर्कशप गरिरहेकी छिन् ।
टिकटकमा निकै नै लोकप्रिय रहेकी प्रिन्सीले ६० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यस्तै, उनले आधा दर्जन बढी हिन्दी म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।
अडिसनमा सहभागी भएका एक दर्जन बढी यूवतीबाट प्रिन्सीलाई यसको निर्माणपक्षले छनोट गरेको हो ।
फिल्ममा प्रिन्सीको भूमिका के हुने हो भन्ने केही पनि खुलाइएको छैन । प्रिन्सीको यो पहिलो नेपाली फिल्म हो ।
नायक अनमोल केसीसँग जोडी बाँधेर फिल्म क्षेत्रमा डेब्यू गर्न पाउँदा प्रिन्सी उत्साहित छिन् । भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्मकी निर्मात्री जीया केसी हुन् । फिल्ममा अर्की एक नायिका पनि रहने बताइएको छ । तर, अर्की एक नायिकाको छनोट हुन बाँकी रहेको वुझिएको छ ।
‘बाटुलो जुन’को छायांकन असार र भदौमा हुनेछ । पहिलो चरणमा चित्लाङमा फिल्मको छायांकन हुनेछ । त्यसपछि ब्रेक लिएर भदौमा दोस्रो चरणको छायांकन गर्ने तयारी निर्देशक भुवन केसीको छ ।
प्रतिक्रिया