काठमाडौं – माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रास्वपालगायतका दलको अवरोधका बाबजुद पनि संसद् बलजफ्ती चलाउने कोसिस भइरहेकोमा आपत्ति जनाएका छन् । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्षी माओवादीसँगको दुईबुँदे सहमतिपछि सत्ता पक्षले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको थियो । रास्वपा र राप्रपाको विरोधका बाबजुद पनि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सञ्चालन गरेको भन्दै आलोचना भइरहेको छ । सभामुख घिमिरेले बजेट पारित गर्ने समयको पाबन्दीकै कारण संसद् रोक्न नहुने भएकाले चलाएको स्पष्टीकरण दिइसकेका छन् । सदन सञ्चालनमा माओवादीको पनि साथ र सहयोग रहँदै आएको छ ।
तर माओवादीकै राष्ट्रिय सभा सदस्य श्रेष्ठ भने रास्वपालाई पेलेर सदन सञ्चालन गर्न नहुने पक्षमा उभिएका छन् । ‘सरकार र सभामुखज्यूबाट रास्वपा लगायत केही पार्टीका सांसदहरुकोअवरोधका बावजूद प्रतिनिधिसभाको बैठक बलजफ्ती सञ्चालन गर्ने कोशिश भइरहेको छ । यद्यपि अहिलेसम्म पनि सदन सुचारु हुन सकेको छैन । सबै प्रतिपक्षलाई विश्वासमा लिई सबैको सहमतिमा सदन सुचारु गर्न म सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ श्रेष्ठले भने, ‘
त्यसप्रकारले सदन सुचारु गरेर संघीय निजामती ऐन र विद्यालय शिक्षा ऐनलाई प्रतिनिधिसभाबाट छिटोभन्दा छिटो अघि बढाउन अनुरोध गर्दछु ।’
रास्वपाले भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन सञ्चालनमा अवरोध जारी राख्दा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुन सकेको छैन ।
प्रतिक्रिया