काठमाडौं । हाम्रो राज्यले भुइँमान्छेलाई कतिसम्म घृणा गर्दो रहेछ भन्ने ताजा उदाहरण बनेका छन् सुर्खेतका नवराज बोहरा । उनी ३१ दिनअघि सुर्खेतबाट खाली खुट्टा देशको राजधानी काठमाडौं आइपुगेका हुन् । काठमाडौं आएलगत्तै उनी प्रधानमन्त्री केपी ओली भेट्न बालुवाटारस्थित सरकारी निवास पुगे ।
उनलाई गेटबाटै सुरक्षाकर्मीले फिर्ता पठाइदिए । त्यसपछि बोहरा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगे । तर उनलाई त्यहाँ पनि प्रधानमन्त्री ओलीलाई भेट्न दिइएन । बोहरालाई एक जोर जुत्ता उपहार दिएर फर्काइयो । यो घटनाले राज्य र सरकार कसका लागि हो भन्ने प्रश्न उब्जेको छ । त्यति मात्र होइन, शासक वर्गले भुइँमान्छेलाई कतिसम्म घृणायुक्त व्यवहार प्रस्तुत गर्दो रहेछ भन्ने उदाहरण हुन् बोहरा ।
कर्णालीवासीको अभाव, पीडा, व्यथा, दुःख र कष्ट सुनाउन भनी बोहरा ३१ दिन लगाएर सुर्खेतबाट काठमाडौं आइपुगेका हुन् । कर्णालीका जनताको पीडा, समस्या र आफ्ना अभियानको आवाज प्रधानमन्त्रीसम्म पुर्याउने उद्देश्य बोकेर उनी राजधानी आएका थिए। तर राजधानीमा पुग्दा उनको त्यो चाहना अधुरै रह्यो। प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष भेटको अवसर नपाएपछि उनलाई एकजना उच्चपदस्थ सरकारी कर्मचारीसँग मात्र समय मिलाइयो। प्रधानमन्त्री कार्यालयबाट एक जोर जुत्ता दिएर उनलाई बिदा गरियो।
यसले भुइँमान्छेका कुरा राज्यको उच्च स्थानमा पुर्याउने बोहराको चाहनामा तुषारापात भएको छ । अर्थात् राज्य निमुखा जनताप्रति कतिसम्म अनुदार बन्दो रहेछ भन्ने यो घटनाले देखाएको छ । प्रधानमन्त्री ओलीलाई अहिले त्यस्तो भ्याइ नभ्याइ केही पनि छैन । संसद् बैठक छैन ।
विदेशी पाहुनासँग भेटवार्ता पनि छैन । राज्यका विभिन्न निकायका दैनिक ब्रिफिङ सुन्ने र निर्देशन दिनेबाहेक प्रधानमन्त्री फुर्सदमै छन् । पार्टीका कार्यक्रममा एकाध घन्टा भाषण दिएर फर्केपछि प्रधानमन्त्री कार्यालयमै हुन्छन् । राज्यका जुनसुकै नागरिक पनि प्रधानमन्त्रीलाई भेट्न चाहन्छ । तर सबैलाई भेट्न सम्भव हुन्न । सबै प्रधानमन्त्रीलाई भेट्न पनि जाँदैनन् ।
तर दुःख र कष्ट पाएका, बाहिरबाट केही भन्न आएकालाई प्रधानमन्त्रीको सचिवालयले राम्रोसँग भेटघाटको वातावरण मिलाइदिनुपर्ने हो । तर त्यसमा प्रधानमन्त्रीको सचिवालयले कमजोरी देखाएको छ । शासक वर्ग र जनताबीचको दूरी जति साँघुरिँदै गयो, त्यति त्यति लोकतान्त्रिक आचरण र व्यवहार झल्किने हो । तर नवराज बोहरालाई प्रधानमन्त्री कार्यालयले गरेको व्यवहारले आमनेपालीमाझ चरम असन्तुष्टि जन्माउने खतरा छ ।
Enter
प्रतिक्रिया