काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतविनै ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक राख्ने काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनको चाहना अधुरै हुन पुगेको छ । बालेनले बुधबारका लागि ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक डाकेका थिए ।
तर सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँविनै राखिएको बैठक अवैधानिक हुने भएपछि बालेनको चाहनामा ब्रेक लागेको हो । उपमेयर सुनिता डंगोलसहित कार्यपालिका सदस्य र नगरसभा सदस्यहरूले कार्यपालिकालगायतका बैठक राख्न बालेनलाई निरन्तर दबाब दिँदै आएका छन् ।
प्रशासनका कर्मचारीलाई प्रस्ताव तयार पार्न लगाएर उनले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाए पनि सदस्य सचिवबिनाको बैठकबारे सदस्यहरूले वैधानिकताको कुरा उठाएपछि बालेन पछि हटेका हुन् । असार १० गतेसम्ममा स्थानीय तहले बजेट पेस गरी मसान्तासम्म पारित गरिसक्नुपर्ने कानुनी बाध्यता छ ।
तर, मेयर संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि महानगरमा अन्योल भएको छ । समितिको सदस्यमा उपमेयर सुनिता डंगोलसँगै कार्यपालिका सदस्यहरू नवीन मानन्धर, नवराज पराजुली, मैयालक्ष्मी महर्जन, अनिता कार्की छन् । महानगरको कार्यपालिका र नगर सभा पनि अनिश्चित छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईसँग बालेनको इगोले अहिले काठमाडौं महानगरको गतिविधि लथालिंग बनेको छ ।
प्रतिक्रिया